कुलमान घिसिङलाई दोस्रो कार्यकाल नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउनुपर्ने आवाज सर्वसाधारणबाट उठिरहेको छ । यो आवाज तथ्यमा भन्दा बढी लहडमा उठेको देखिन्छ । कुनै पनि निष्कर्ष वा निर्णयमा पुग्नुअघि वस्तुगत विश्लेषण आवश्यक पर्छ । वस्तुगत विश्लेषणका लागि पुष्टि भएका तथ्यांक चाहिन्छ । यसै आधारमा कुलमानबारे विश्लेषण गरौं ।
कुलमान घिसिङ २०७३ को भदौ ३१ गते नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भए । त्यतिखेर देशभर दैनिक ७ घण्टा लोडसेडिङ थियो । सुख्खायाम बढ्दै गएपछि लोडसेडिङ ११ घण्टा पुग्ने प्रक्षेपण थियो । कुलमान नियुक्त भएको दुई महिनामै राजधानीमा लोडसेडिङ हटेको थियो । क्रमशः ठूला सहर हुँदै अर्को वर्षको वर्षातसम्म लोडसेडिङ पूरै हटेको थियो । सर्वसाधारणमा उपलब्ध तथ्य माथि उल्लेखित मात्र हो । यति तथ्यको आधारमा कुुलमानको कारण लोडसेडिङ अन्त्य भएको हो, उनीबाहेक अरु कोही भएको भए लोडसेडिङ हट्दैन थियो भन्ने निष्कर्षमा पुग्न मिल्दैन । हुनसक्छ, उनकै कारण लोडसेडिङ अन्त्य भएको हो र तर त्यो निष्कर्षमा पुग्न अन्य तथ्यांक आवश्यक पर्छ । उनीबाहेक अरु कोही भएको भए अन्त्य नै हुँदैन थियो भन्ने निष्कर्ष निकाल्न सायदै कुनै पनि तथ्यांक पर्याप्त हुँदैनन् ।