आपसमा सञ्चार गर्नमात्र नभई सबै खालका सूचना तथा समाचार प्रवाह र मनोरञ्जनका लागि समेत सोसल मिडिया प्लाटफर्म अहिलेको सर्बाधिक लोकप्रिय माध्यम बनेको छ ।
भिडियो स्ट्रिमिङ प्लाटफर्म युट्युब मनोरञ्जक, सूचनामूलक तथा सबै खालका भिडियो सामाग्रीका लागि आम इन्टरनेट प्रयोगकर्ताहरुको पहिलो गन्तव्य हो ।
धेरै मानिसहरुले आफ्नै युट्युब च्यानल खोलेर त्यसमा आफैले तयार पारेका विभिन्न भिडियो सामाग्रीहरु अपलोड गरेर ठूलै चर्चा कमाउनुका साथै मनग्गे आम्दानी समेत गरिरहेका हुन्छन् ।
युट्युब मार्फत् आम्दानी गर्नका लागि युट्युब च्यानल तथा त्यसमा अपलोड गरिने सामाग्रीहरु धेरै भन्दा धेरै दर्शकले हेर्नुपर्छ र मन पराउनु पर्दछ । कहिलेकाहीँ अब्बल भिडियो सिर्जना गर्दागर्दै पनि त्यसको प्रस्तुति तथा अन्य कुरामा ध्यान दिन नसक्दा युट्युब भिडियो धेरै दर्शकसम्म नपुग्ने हुन्छ र मेहेनत खेर जानसक्छ ।
यदि तपाईं आफ्नो युट्युब च्यानल तथा त्यसका सामाग्रीहरु धेरै भन्दा धेरै दर्शकसम्म पुगुन् र लोकप्रिय बनुन् भन्ने चाहनुहुन्छ भने त्यसका लागि यी ८ वटा टिप्स निकै उपयोगी हुन्छन्ः
गुणस्तरीय सामाग्री
युट्युबमा कुनैपनि सामाग्री लोकप्रिय तथा चर्चित बन्नका लागि त्यसमा अपलोड गरिने सामाग्रीको गुणस्तर सबैभन्दा महत्वपूर्ण हुन्छ । तपाइँले जुन भिडियो बनाउँदै हुनुहुन्छ त्यो उपयोगी, मनोरञ्जक तथा जानकारीमूलक हुनु आवश्यक हुन्छ ।
एकै प्रकारका सामाग्रीहरु राखियो भने दर्शकलाई दिक्क लाग्नसक्छ, त्यसैले सामाग्रीहरुको विविधतामा ध्यान दिनुहोस् । विभिन्न विषयवस्तु र ढाँचाका भिडियोहरु तयार पारेर अपलोड गर्नुहोस् ।
एसइओको सही उपयोग
भिडियोको शीर्षक तथा विवरणमा की वर्डको प्रयोग गर्नुहोस् । यसबाट तपाइँको भिडियो सजिलैसँग सर्चमा देखिन्छ । विषयसँग सम्बन्धित ट्यागको चयन गर्नुहोस् । शीर्षक यस्तो होस् कि दर्शकलाई क्लिक गर्न बाध्य पारोस् ।
थम्बनेल आकर्षक तथा सान्दर्भिक बनाउनुहोस्
वास्तवमा थम्बनेल कुनैपनि युट्युब भिडियोको पहिलो इम्प्रेसन हो । आकर्षक थम्बनेलले दर्शकको ध्यान खिच्दछ र क्लिक थ्रू रेटलाई बढाउँछ । त्यसैले युट्युब भिडियोको थम्बनेल छनोटमा विशेष ध्यान दिनुहोस् र थम्बनेललाई आकर्षक र स्पष्ट बनाउनुहोस् ।
निरन्तरता दिनुहोस्
आफ्नो युट्युब च्यानलमा सामाग्रीहरु अपलोड गर्ने समयतालिका अर्थात् सेड्युल तयार पार्नुहोस् र त्यसको पालना गर्नुहोस् । नियमित रुपमा सामाग्रीहरु अपलोड हुनाले दर्शकहरुलाई नयाँ सामाग्री कहिले अपलोड हुन्छ भन्ने कुराको जानकारी हुन्छ ।
दर्शकसँग अन्तरक्रिया र निकट सम्बन्ध
आफ्नो युट्युब च्यानलमा दर्शकहरुलाई महत्व दिनुहोस् र नियमित अन्तरक्रिया गर्नुहोस् । भिडियो सामाग्रीमा आउने कमेन्टहरुको यथोचित जवाफ दिनुहोस् । यसबाट तपाइँको एउटा कम्युनिटी तयार हुन्छ। मत सर्भेक्षण (पोल्स), प्रश्नोत्तर (क्यू एण्ड ए) तथा लाइभ स्ट्रिमिंगको माध्यमबाट दर्शकहरुको बडि भन्दा बढि सहभागिता जुटाउनुहोस् ।
सोसल मिडियामा प्रचार तथा प्रवर्द्धन गर्नुहोस्
आफ्नो युट्युब च्यानल तथा त्यसका सामाग्रीहरुलाई इन्स्टाग्राम, फेसबुक तथा ट्वीटर लगायतका सोसल मिडिया प्लाटफर्म मार्फत् शेयर गरी प्रोमोसन गर्नु पर्दछ । यसले युट्युब सामाग्रीमा दर्शकको पहुँच वृद्धि हुन्छ र सामाग्रीको व्यापक प्रचारप्रसारमा सहयोग पुग्दछ ।
विश्लेषण (एनालिटिक्स) मा ध्यान दिनुहोस्
युट्युब एनालिटिक्सको प्रयोग गरेर आफ्नो च्यानलका कुन कुन भिडियोमा दर्शकहरुको पहुँच बढि छ र कुन भिडियोलाई धेरै मन पराइएको छ भन्ने कुराको जानकारी नियमित रुपमा लिनुहोस् । यसबाट कस्तो खालका सामाग्रीहरु दर्शकलाई मन पर्दछ भन्ने थाहा हुन्छ र सोही बमोजिमका सामाग्रीहरुको सिर्जना गर्न सकिन्छ ।
लामो तथा छोटो भिडियोहरुको उचित सम्मिश्रण
तपाइँले आफ्नो युट्युुब च्यानललाई नयाँ नयाँ दर्शकसमक्ष पूराउन चाहनुहुन्छ भने युट्युब शर्टस्को प्रयोग गर्नु निकै उपयोगी हुन्छ । साथै लामो आकारका भिडियोमा अधिक विस्तृत विवरणहरु समावेश गर्नुहोस् ताकि त्यसले तपाइँको युट्युब सामाग्रीहरुको वाच टाइम अर्थात् हेरिने समयमा वृद्धि होस् । एजेन्सी